न्यूरोडमा मागेर बसिरहेकी यी विदेशी महिला को हुन् ?

  • शनिबार १६ साउन २०८३ ०७:२२ PM
काठमाडौं । सामान्यत विदेशी पर्यटक नेपाल आउँदा प्रशस्त खर्च गर्छन भन्ने मान्यता राखिन्छ। तर सबै विदेशी खर्च गर्न मात्र आउँदैनन् । कोही मगन्तेका रुपमा पनि सडक पेटीमा भेटिने गरेका छन् । हालैको एक दिन काठमाडौं न्यूरोडस्थित सडक किनारमा भने फरक दृश्य देख्न देखियो । रुसबाट आएकी ‘लिरा’ नाम बताउने एक विदेशी महिला वास्तवमै मगन्तेको रुपमा देखिइन् । मुस्कुराउँदै र बाजा(स्टिल टङ ड्रम ह्यान्डप्यान) बजाएर सहयोग मागिरहेको दृश्यले धेरैको ध्यान तानेको छ । पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइरहेकी हुन्छिन् । अनुहारमा सँधै चमक र मुस्कान देखिन्छ । साथमै राखिएको सानो ब्यागमा बाटो हिँड्ने मानिसहरूले आफ्नो इच्छाअनुसार रकम राखेर अघि बढिरहेका देखिन्छन् । नेपालमा सडक किनारमा बसेर सहयोग माग्ने दृश्य नयाँ होइन । तर कुनै विदेशी नागरिक नेपाली सडकमा यसरी बाजा बजाउँदै सहयोग मागिरहेको दृश्य भने धेरैका लागि नौलो बनेको छ । विदेशी देख्नेबित्तिकै उनीहरू आर्थिक रूपमा सम्पन्न हुन्छन् भन्ने आमधारणा रहेको नेपाली समाजमा यो दृश्यले फरक सन्देश दिएको छ । सबैले आर्थिक अभावका कारण मात्र माग्ने गर्दैनन्, कतिपयले आफ्नो यात्रा र जीवनशैलीकै एक भागका रूपमा पनि यस्तो अभ्यास अपनाउने गरेका हुन्छन् । ती महिलाले आफ्नो छेउमा सहयोग रकम राख्नका लागि एउटा झोला राखेकी छन्। साथै, एउटा प्लेकार्डमा नेपालीले सजिलै बुझ्ने भाषामा लेखिएको छ–‘म रुसबाट हुँ । पाँच वर्षदेखि विभिन्न देश घुम्दैछु । अब उज्बेकिस्तान जाँदैछु । धन्यवाद ।’ प्लेकार्डमा उनले आफ्नो इन्स्टाग्राम आइडी पनि उल्लेख गरेकी छन् । उनका अनुसार उनी विगत पाँच वर्षदेखि विभिन्न देश घुम्दै यात्रा गरिरहेकी छन् । नेपालपछि उनको गन्तव्य उज्बेकिस्तान हो । यात्रा गर्ने क्रममा विभिन्न देशका सडक किनारमा बसेर बाजा बजाउने र मानिसहरूले स्वेच्छाले दिएको सहयोगबाट आफ्नो यात्रा अघि बढाउने उनको उद्देश्य रहेको देखिन्छ । काठमाडौंको व्यस्त सडकमा मुस्कुराउँदै बाजा बजाइरहेकी ती विदेशी महिलाले धेरैको ध्यान मात्र खिचेकी छैनन्, विदेशीप्रति नेपाली समाजमा रहेको परम्परागत धारणा र सडक संस्कृतिबारे पनि नयाँ विषय बनाएकी छन् ।