काठमाडौँ। परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुमको आठराई गाउँपालिका-६ हात्तीखर्कका सोमकुमार तामाङको पार्थिव शरीर शनिबार कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो यस दुःखद् घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कुबेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ ।