भद्रपुर (झापा) । अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार रु चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ । कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ मा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो । काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तरराष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो । नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्राआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ । उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके आगामी वर्षमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको भन्सार अधिकृत माङ्कल राईले बताए ।