काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताए । “ज्ञानमा आधारित जनशक्तिले मात्र परी आउँदा सहयोग पुर्याउन सक्ने हुन्छ”, उनले भने, “सहभागीहरूलाई कांग्रेसको नयाँ अभियानमा यही विषयमा केन्द्रित रहेर सेवा भावका साथ काम गर्न आह्वान गर्छु ।” कांग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा पार्टीले विपद्मा परेका मानिसको उद्धार गर्न नसेकेर टुलुटुलु हेर्नु परेको आवस्थाको उदाहरण दिँदै अबका दिनमा पार्टी विपद्लगायत सामाजिक काममा क्रियाशील हुने बताए । “विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण यसको आरम्भ गरेका छौँ । यस्ता खालका प्रशिक्षण देशभर सञ्चालन गर्ने सोचमा पार्टी रहेको छ”, उनले भने । कांग्रेसले साउन १६–१८ चल्ने प्रशिक्षणमा विपद् विज्ञहरू तीवेन्द्र बाँस्कोटा, भोजराज घिमिरे, पिताम्वर अर्याल, पूजा शाक्य, राम भट्टराई र लक्ष्मण माली प्रशिक्षक रहेका छन् । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यावहारिक अभ्याससमेत गराइने कार्यक्रम संयोजक मानबहादुर थापाले जानकारी दिएका छन् । प्रशिक्षणमा ४० भन्दा बढी युवाहरू सहभागी छन् ।