काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव बढिरहेका बेला सर्लाहीको हरिवनमा सद्भाव र शान्तिको पक्षमा र्याली निकालिएको छ । हरिवन नगरपालिकाको आयोजनामा शुक्रवार बिहान सम्पन्न र्यालीले हरिवन बजार परिक्रमा गरेको थियो । र्यालीमा द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिका, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पूर्व मन्त्री, वर्तमान सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्लाका अन्य सरोकारवालाको सहभागिता रहेको थियो । र्यालीमा सहभागी नेकपाकी केन्द्रीय सदस्य आरती लामाका अनुसार द्वन्द्वपीडित बालबालिकाले आफूहरू विगतको द्वन्द्वबाट प्रत्यक्ष रूपमा प्रभावित भएकाले फेरि अर्को हिंसात्मक द्वन्द्वको सिकार बन्न नचाहेको सन्देश दिएका छन् । उनीहरूले समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका थिए । पछिल्लो समय सुनसरीको कप्तानगञ्जमा जातीय हिंसा भड्किएर आन्दोलनकारीको ज्यान गएपछि विभिन्न जिल्लामा आन्दोलन तथा प्रदर्शन भइरहेका छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ । प्रहरीले विशेष गरी मधेस प्रदेश केन्द्रित सुरक्षा व्यवस्थापनका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डिआइजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) सहित १५ जना वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा छुट्टै सुरक्षा टोली परिचालन गरिसकेको छ । सद्भाव र्यालीमार्फत सहभागीले जातीय तथा सामाजिक सद्भाव कायम राख्न, हिंसालाई अस्वीकार गर्न र संवाद तथा सहिष्णुतामार्फत समस्या समाधान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।