मन्त्री सीता बादीको अपिल : 'घृणा होइन, प्रेम फैलाऔँ, धार्मिक सद्भाव कायम राखौँ’ 

  • शुक्रबार​ १५ साउन २०८३ ११:२६ PM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले धार्मिक तथा सामाजिक तनावका बीच सम्पूर्ण नेपालीलाई संयमता अपनाउँदै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा मन्त्री बादीले आफू कुनै पद वा राजनीतिक विचारको प्रतिनिधिका रूपमा नभई ‘एउटा चिन्तित नेपाली’का रूपमा देशवासीसँग संवाद गरिरहेको उल्लेख गरेकी छन् । उनले सरकारमा हुनु वा नहुनुभन्दा पहिले सबै नेपाली भएको स्मरण गराउँदै देशलाई अहिले क्रोधभन्दा करुणा, घृणाभन्दा प्रेम र आरोपभन्दा आत्मीय संवादको आवश्यकता रहेको बताएकी छन् । मन्त्री बादीले धार्मिक वा सामाजिक तनाव बढिरहेका बेला प्रत्येक नागरिकले आफ्ना शब्द, व्यवहार र निर्णयप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै एउटा असावधान अभिव्यक्तिले वर्षौंको विश्वास भत्काउन सक्ने तर एउटा संवेदनशील शब्दले हजारौं मन जोड्न सक्ने धारणा राखेकी छन् । उनले राजनीतिक दल, जनप्रतिनिधि, सरकारी कर्मचारी, धार्मिक अगुवा, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा समाजमा प्रभाव राख्ने सबै व्यक्तित्वलाई समाजलाई विभाजन गर्ने होइन, जोड्ने नेतृत्व गर्न आग्रह गरेकी छन् । सन्देशमा उनले आर्थिक, सामाजिक वा शैक्षिक अवस्थाले फरक परे पनि सबै नेपालीको रगतको रङ, पीडा र साझा देश एउटै रहेको उल्लेख गर्दै कुनै पनि धर्मले घृणा नभई प्रेम, करुणा, अहिंसा, क्षमा, सेवा र मानवताको शिक्षा दिने बताएकी छन् । मन्त्री बादीले कुनै पनि आमाको काख रित्तो नहोस्, कुनै पनि बाबुले आफ्नै सन्तानको शव बोक्न नपरोस् र कुनै पनि नागरिकले आफ्नै देशमा डर र असुरक्षाको अनुभूति गर्न नपरोस् भन्ने कामना व्यक्त गरेकी छन् । नेपालले विगतमा धेरै पीडा भोगिसकेको उल्लेख गर्दै उनले अब नयाँ घाउ थप्ने होइन, पुराना घाउमा मल्हम लगाउने समय आएको बताइन् । 'आज कसैलाई हराएर कसैले जित्दैन । यदि हार्छ भने नेपाल हार्छ, यदि जित्छ भने हामी सबै मिलेर मात्र नेपाल जित्छौँ,' भन्दै उनले द्वन्द्वको सट्टा संवाद, घृणाको सट्टा प्रेम, विभाजनको सट्टा एकता र आक्रोशको सट्टा आशा रोज्न सबै नेपालीलाई आह्वान गरेकी छन् । बादीको स्टाटस :  प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हामी को सरकारमा छौँ वा छैनौँ भन्नेभन्दा ठूलो कुरा एउटा छ हामी सबैभन्दा पहिले नेपाली हौँ। यही माटोले हामीलाई जन्म दिएको हो, यही आकाशमुनि हामीले सपना देखेका हौँ, र यही देशको भविष्य सुरक्षित राख्ने जिम्मेवारी पनि हामी सबैको काँधमा छ। आज म तपाईंहरूसँग कुनै नेता, कुनै पद वा कुनै विचारको प्रतिनिधिका रूपमा होइन, एउटा चिन्तित नेपालीको रूपमा कुरा गरिरहेको छु। देशलाई अहिले क्रोध होइन, करुणा चाहिएको छ। घृणा होइन, प्रेम चाहिएको छ। आरोप होइन, आत्मीय संवाद चाहिएको छ। समाजमा धार्मिक वा सामाजिक तनाव बढिरहेका बेला कृपया आफ्नो शब्द, व्यवहार र निर्णयप्रति सजग बनौँ। कहिलेकाहीँ एउटा असावधान अभिव्यक्तिले वर्षौँदेखि बनेको विश्वास भत्काइदिन सक्छ, तर एउटा संवेदनशील शब्दले हजारौँ मन जोड्न सक्छ। म यतिबेला सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सरकारी कर्मचारी, धार्मिक अगुवा, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज र समाजमा विश्वास कमाउनुभएका सबै व्यक्तित्वहरूलाई विनम्र आग्रह गर्दछु, हामीलाई विभाजन गर्ने होइन, जोड्ने नेतृत्व गरिदिनुहोस्। हामीमध्ये कोही धनी छौँ, कोही गरिब। कोही बहुसंख्यक छौँ, कोही अल्पसंख्यक। कोही धेरै शिक्षित छौँ, कोही अवसरको प्रतीक्षामा छौँ। तर हाम्रो रगतको रङ एउटै हो, हाम्रो आँसुको पीडा एउटै हो, र हाम्रो देश पनि एउटै हो- नेपाल । कुनै पनि धर्मले घृणा सिकाउँदैन। सबै धर्मले प्रेम, करुणा, अहिंसा, क्षमा, सेवा र मानवताको बाटो देखाउँछन्। यदि हाम्रो आस्थाले मानवता बचाउन सकेन भने त्यो आस्थाको अर्थ नै के रहला