काठमाडौँ । राष्ट्रिय किताबखानाले सरकारको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) पुनर्संरचना कार्यान्वयनलाई तीव्रता दिँदै हालसम्म १० मन्त्रालय र तिनअन्तर्गतका १२७ निकायसहित कुल १३७ निकायको सङ्गठन तथा पद दर्ता प्रक्रिया सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय किताबखानाले शुक्रवार सार्वजनिक गरेको साउन १५ गतेसम्मको अद्यावधिक विवरण अनुसार मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णय कार्यान्वयनका क्रममा प्राप्त सबै फाइलको सङ्गठन तथा पद दर्ता सम्पन्न गरिएको हो । राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण पोखरेलका अनुसार हालसम्म विशिष्ट श्रेणीका १०, सहसचिव वा सो सरहका ८१ सहित कुल ४ हजार ६८२ पद तथा दरबन्दी दर्ता गरिएको छ । दर्ता सम्पन्न भएका मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, रक्षा मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा रोजगार मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय रहेका छन् । यी मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना, सहकारी रजिस्ट्रारको कार्यालय, शिक्षा विभाग, शिक्षा सेवा आयोग, पाठ्यक्रम विकास केन्द्र, नेपाल राष्ट्रिय पुस्तकालय, राष्ट्रिय अभिलेखालय, पुरातत्त्व विभाग, विभिन्न सङ्ग्रहालय तथा स्मारक संरक्षण कार्यालय, वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार कार्यालयलगायत १२७ निकायको सङ्गठन संरचना र पद दर्ता सम्पन्न भएको राष्ट्रिय किताबखानाले जनाएको छ । राष्ट्रिय किताबखानाले सरकारको नयाँ सङ्गठन संरचना कार्यान्वयनलाई समयमै अभिलेखीकरण गर्न स्पेसल टास्क टिम परिचालन गरी दर्ता कार्यलाई फास्ट ट्र्याकमार्फत अघि बढाइरहेको जनाएको छ ।