तेह्रथुम। आठराई गाउँपालिकाको चार करोड भन्दा बढी बजेट फिर्ता भएको छ। गाउँपालिकाको बजेट पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठेपछि शुक्रबार गाउँपालिकाका कार्यवाहक उपाध्यक्ष बलिराज इङ्नामले विज्ञप्ति जारी गर्दै गाउँपालिकाको सशर्त अनुदानतर्फको धेरै बजेट फिर्ता भएको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ५ लाख १३ हजार ४०९ रुपैयाँ फिर्ता भएको छ। गाउँपालिकालाई विभिन्न अनुदान शीर्षकमा प्राप्त भएको ३८ करोड ७ लाख २१ हजार रुपैयाँमध्ये ३४ करोड २ लाख ७ हजार ५९० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। जसमा सबैभन्दा धेरै संघीय सरकारको शशर्त अनुदान चालुतर्फ ३ करोड ३७ लाख ३९ हजार ६७१ रुपैयाँ खर्च नभई फिर्ता भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमार्फत इङ्नामले भनेका छन्, 'आर्थिक वर्ष २०८२/०८३ को बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न नसकी फ्रिज गरेको भनी विभिन्न सामाजिक सञ्जालहरुमा टिका टिप्पणी भएको हुँदा सो प्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको छ। संघीय तथा प्रादेशिक शसर्त, विशेष तथा समपुरक अनुदान आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने निश्चित मापदण्ड तथा कार्यविधी बमोजिम तोकिएकै आयोजना तथा कार्यक्रममा खर्च गर्ने गरि रकम प्राप्त भएको हुँदा, सो भन्दा अन्यन्त्र खर्च गर्न पूर्ण रुपमा बन्देज रहेको हुन्छ।' गाउँपालिकाका अनुसार संघीय शसर्त अनुदानमा आएको बजेटमध्ये सबैभन्दा बढी शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिकमा खर्च नभएका कारण फिर्ता भएको छ। सो रकम विनियोजित शीर्षकबाहेकमा खर्च गर्न मिल्दैन। गाउँपालिकाले शिक्षक कर्मचारीहरुको दरबन्दी नै रिक्त भएका कारण बजेट खर्च नभएको दाबी गरेको छ। 'आठराई गाउँपालिकाबाट पूँजीगत वा विकास बजेट सामाजिक सञ्जालमा अफवाह फैलाइए जस्तो प्रकृतिले फिर्ता भएको छैन । सिमित श्रोत साधनबाट जनताका असिमित चाहाना तथा आवश्यकतालाई परिपुर्ति गर्न आठराई गाउँपालिका संवेदनशिल रहेको छ,' विज्ञप्तिमा दाबी गरिएको छ। यस्तो छ विज्ञप्ति :