काठमाडौँ । यहीँ साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार खिर खाने दिनको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रमकाविच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, विश्वास, धोका, बिछोड र त्यसपछि जीवनमा आउने सङ्घर्ष तथा उतारचढावलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । निर्देशक राजबहादुर सानेले दुई प्रेम जोडीको कथामार्फत सम्बन्ध, पारिवारिक जिम्मेवारी, सामाजिक दबाब र जीवनका कठिन मोडलाई यथार्थपरक शैलीमा चित्रण गरेका छन् । चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेम जोडीका रूपमा प्रस्तुत भएका छन् । सुरुमा आत्मीय र सुखद देखिने उनीहरूको सम्बन्ध समयसँगै अभाव, चुनौती र सामाजिक परिस्थितिका कारण जटिल बन्दै गएको ट्रेलरमा देखाइएको छ । निर्देशक सानेका अनुसार चलचित्रले प्रेम सम्बन्धभित्रका यथार्थ, जिम्मेवारी र सङ्घर्षका विभिन्न पक्षलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको छ । चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुत कर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् । चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन देव महर्जन तथा छायाङ्कन दिव्य राज सुवेदीले गरेका छन् । चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।