काठमाडौँ। सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ । नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा रहेको बताए। “शान्ति सुरक्षाको अवस्थामा आएको चुनौती क्रमशः कम हुँदै गइहरेको छ”, उनले भने। गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ । सहमतिअनुसार मृतकको शव बुझ्ने र अत्येष्टि प्रक्रिया अघि बढिसकेको छ । गृहमन्त्री र पीडित परिवारबीच गएराति सातबुँदे सहमति भएको थियो । सशस्त्र प्रहरी बल नेपालका केसी प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकार्य र समन्वयमा परिचालन भइरहेकाले पूर्वी तराईमा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताए। “समग्रमा अहिले शान्ति सुरक्षाको स्थिति एकदम नियन्त्रणमा छ । सबै क्षेत्रमा समन्वयका साथ काम भइरहेको छ”, उनले भने। तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सुक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन् । अहिले पनि सुनसरी, धनुषा, सिरहा, पर्सालगायत जिल्लाका केही भागमा भने कफ्र्यु जारी छ । ती जिल्लामा देखिएका तनाव कम गर्न विभिन्न प्रयास भइरहेको छ । पछिल्ला घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले पनि आफ्नो काम गरिरहेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्थालाई मजबुद बनाउने र सामाजिक सद्भाव कायम राख्नेमा सरकारको प्रयास केन्द्रित रहेको बताए। गृह सचिवको अध्यक्षतामा धार्मिक समुदायका अगुवासँग छलफल भएको उनले जानकारी दिए। प्रहरीका उच्चअधिकारीलाई तोकियो जिम्मेवारी केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको लागि प्रहरीका उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिए। सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना सङ्कलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए। प्रहरी महानिरीक्षकको सचिवालयअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेस, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई कोसी प्रदेश÷सुनसरी तथा प्रहरी नायब महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरीको जिम्मेवारी दिइएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पङ्गेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेसको जिम्मेवारी दिइएको छ ।