हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध

  • शुक्रबार​ १५ साउन २०८३ ०३:०७ PM
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आवेग वा उत्तेजनामा आएर सामाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता विथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।   पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिका सन्दर्भमा आज अपिल जारी गर्दै सशस्त्र प्रहरीले समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्ने काममा सहयोग गर्न अनुरोध गरेको हो ।   नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्व दिँदै आपसी संवाद, समझदारी, सद्भाव र सहिष्णुताका माध्यमबाट जटिल समस्यासमेत आफैँ समाधान गर्दै आइरहेको स्मरण गराइएको छ ।   “समाजमा कहिलेकाहीँ देखिने असमझदारी र मतभेदको समाधान गर्ने जिम्मेवारी पनि अन्ततः हामी सबैको साझा दायित्व हो”, सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीद्वारा जारी अनुरोधमा भनिएको छ ।   हुलहुज्जत, हिंसा र दङ्गाले समस्या समाधान गर्नुको साटो मुलुक र जनतालाई नै क्षति पुर्‍याउने तथा हिंसा, तोडफोड र आगजनीजस्ता कार्यहरुले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर हुन जाने अनुरोधमा उल्लेख छ ।   एकअर्काको दुःखमा साथ दिने र अप्ठ्यारोमा सहयोग गर्ने मानवीय भावना नै नेपाली समाजको मौलिक पहिचान भएको जनाउँदै प्रवक्ता कार्कीले अहिले हामीले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय भएको बताएका छन्।   “कुनै धर्म, समुदाय वा समूह प्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाई समाजलाई अपूरणीय क्षति पुर्‍याउँछ, समाजमा शान्ति कायम राखी एकअर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचारप्रसारण नगर्नसमेत सशस्त्र प्रहरी बल अपिल गर्दछ”, जारी अनुरोधमा भनिएको छ ।