सुरक्षा अवस्था अनुगमन गर्न एआईजीदेखि एसएसपीसम्म फिल्डमा खटाइए

  • शुक्रबार​ १५ साउन २०८३ ०३:२९ PM
काठमाडौँ । हाल विकसित सुरक्षा अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नेपाल प्रहरीले विभिन्न प्रदेश र जिल्लामा वरिष्ठ प्रहरी अधिकृतलाई विशेष जिम्मेवारीसहित परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सुरक्षा व्यवस्थापनमा प्रहरी जनशक्ति तथा स्रोत-साधन परिचालनको प्रभावकारिता मूल्याङ्कन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना सङ्कलन तथा विश्लेषण, आवश्यकताअनुसार फिल्डमा खटिने, सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण गर्ने, जनगुनासो सुन्ने, परिस्थिति नियन्त्रणबाहिर जान नदिई समयमै सामान्यीकरण गर्ने तथा आवश्यक विवरण प्रहरी महानिरीक्षकसमक्ष पेश गर्ने जिम्मेवारी दिइएको हो । यसअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धी विक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी तोकिएको छ । यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरी खटाइएको छ । त्यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शमशेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा तथा अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशको जिम्मेवारी दिइएको छ । प्रहरीले हालको विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा समन्वयलाई प्रभावकारी बनाउन र कुनै पनि अप्रिय अवस्था आउन नदिन वरिष्ठ प्रहरी नेतृत्वलाई फिल्डमै परिचालन गरिएको जनाएको छ ।