काठमाडौँ । नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती भारतको कोलकातामा सम्पन्न गरेको छ । पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क–२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली–बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा साहित्यकार पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा) र रण काफ्ले (असम, भारत)ले प्रवास र कोलकाता विषय समेटेर लेखिएको कविता वाचन गरे । भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष प्रदीप खनाललाई धार्मिक समन्वय प्रवर्द्धन गर्न योगदान दिएबापत सम्मान गरिएको थियो । कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले त्यहाँ रहेका सबै नेपालीलाई एकजुट हुन र भानुजयन्तीजस्ता कार्यक्रम संयुक्त रूपमा मनाउन आग्रह गरे । प्रवासी नेपाली सङ्घ भारत (पश्चिम बङ्गाल, झारखण्ड संयुक्त राज्य समिति)का अध्यक्ष नारायणप्रसाद होमगाईँले कोलकातावासी प्रवासी नेपालीले विभिन्न धार्मिक–सांस्कृतिक तथा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमार्फत दिएको योगदानबारे प्रकाश पारे । त्यहाँको शिवपुर दीनबन्धु इन्स्टिच्युसन कलेज हावडा, हिन्दी विभागाध्यक्ष डा सत्यप्रकाश तिवारीले आफूले सबै नेपालीलाई जातीय रूपले एकीकृत गर्ने आदिकविबारे अनुसन्धान गर्न चाहेको जानकारी दिए । समितिका प्रमुख सल्लाहकार धर्मराज बराल र प्रतिष्ठानका अध्यक्ष अर्यालले नेपालीलाई आफू जहाँ रहे पनि आफ्नो नेपाली र अन्य मातृभाषा, साहित्य, कला, संस्कृति प्रचारप्रसार, प्रवर्द्धन र पुस्तान्तरण गर्न आग्रह गरे । कोलकाताका समाजसेवी तथा व्यवसायी सुशीलकुमार चौधरीले नतुनहाट, विवेकानन्द पार्कमा करिब ५० लाख लागतमा निर्माणाधीन पशुपतिनाथ मन्दिरको आगामी शिवरात्रिमा प्राणप्रतिष्ठा गरिने जानकारी दिए । त्यस अवसरमा प्रवासी नेपालीले २६ वर्षदेखि कोलकातामा भानुजयन्ती मनाउँदै आएको जानकारी दिइयो । महावाणिज्य दूतावास र ‘तुलसीदास और भानुभक्तः सामाजिक और सांस्कृतिक परिदृश्य’ (सन् २०१२)का लेखक सहप्राध्यापक डा तिवारीले नेपाली प्रतिनिधिमण्डलका सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए । कोलकातामा नेपालीहरूका पहलमा आदिकवि आचार्यका दुई सालिक स्थापना गरिनाका साथै उनका नाममा भानुभक्त सरिणी (सडक)को नामकरण पनि गरिएको छ ।