सुनसरी घटनापछि पत्रकार महासङ्घको अपिल: संयम अपनाऔँ, अफवाह नफैलाऔँ

  • शुक्रबार​ १५ साउन २०८३ १२:३२ PM
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरीसहित विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । महासङ्घले नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहुभाषिक तथा बहु जातीय विविधताले सम्पन्न मुलुक भएकाले यही विविधताबिचको सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली समाजको पहिचान र राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरेको छ । यस्तो सामाजिक सद्भाव कमजोर बनाउने कुनै पनि गतिविधिले राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य-मान्यतामा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ । विज्ञप्तिमा सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम र त्यसपछिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिएको छ। साथै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्न आग्रह गरिएको छ । महासङ्घले अफवाह, घृणा, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र अपुष्ट सामग्रीको प्रसार नगर्न सबै पक्षलाई आग्रह गरेको छ । कुनै पनि विवादको समाधान हिंसा, तोडफोड वा प्रतिशोधबाट नभई संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिबाट मात्रै सम्भव हुने विश्वास पनि महासङ्घले व्यक्त गरेको छ । यसै गरी, संवेदनशील परिस्थितिमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमार्फत सामाजिक सद्भाव कायम राख्न पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण सञ्चारकर्मीलाई महासङ्घले आग्रह गरेको छ ।  महासङ्घले समाचार सङ्कलन र सम्प्रेषणका क्रममा पत्रकारले त्रास, अवरोध वा हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । साथै घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा नागरिकको संवैधानिक अधिकारको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । सुरक्षा व्यवस्थापनका क्रममा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्त कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै महासङ्घले सबै पक्षलाई संयमता, सहिष्णुता, आपसी सम्मान र जिम्मेवारीका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र दिगो शान्तिको पक्षमा उभिन आह्वान गरेको छ ।