काठमाडौँ । ‘न्याय र अधिकारका लागि एक हुङ्कार’ भन्ने मूल नारासहित ROAR (Right, Oversight, Accountability and Reform) अभियानको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा पत्रकार, अधिकारकर्मी तथा अभियन्ताको उपस्थितिमा आयोजित घोषणा सभामार्फत अभियान सार्वजनिक गरिएको हो । अभियानकी सदस्य स्मृति बरालले वर्तमान अवस्थामा राज्य आतङ्क बढिरहेको दाबी गर्दै न्याय, श्रमजीवी तथा हुँदा खाने वर्गको अधिकार, राष्ट्र र राष्ट्रियताको संरक्षण तथा अधिकार, जननिगरानी, जबाफदेहिता र सुधारका पक्षमा अभियान सञ्चालन गरिने बताए । उनले आगामी कार्यक्रम तथा कार्ययोजनाबारे जानकारी गराउँदै घोषणा सभाको समापन गरेका थिए । कार्यक्रमको सञ्चालन सन्ध्या बरालले गरेकी थिइन् भने स्वागत मन्तव्य हेमन्त सापकोटाले राखेका थिए । सुप्रिया नेपालीले अभियानको उद्देश्यबारे धारणा व्यक्त गरेकी थिइन् । अभियानकी अर्की सदस्य सन्ध्या बरालले अन्यायमा परेका तथा आफ्नो आवाज दबिएको महसुस गरेका सबैलाई अभियानमा सहभागी हुन आग्रह गरिन् । उनका अनुसार अभियानमा अहिले सहभागी भएका सदस्य स्वतःस्फूर्त रूपमा आबद्ध भएका हुन् भने अधिकांश सदस्य यसअघि विभिन्न सामाजिक आन्दोलन र नागरिक अभियानमा सक्रिय रहँदै आएका छन् । ROAR को अर्थ Right (अधिकार), Oversight (जननिगरानी), Accountability (जबाफदेहिता) र Reform (सुधार) रहेको अभियानका सदस्य सुप्रिया नेपालीले जानकारी गराइन । अभियानको संयोजकमा हरिस गिरी रहेका छन् भने सन्ध्या बराल, सुप्रिया नेपाली, हेमन्त सापकोटा र स्मृति बराल सदस्य रहेका छन् ।