कोशी र मधेशका सांसदलाई आफ्नो क्षेत्रमा खटिन सभापति लामिछानेको निर्देशन

  • बिहीबार १४ साउन २०८३ ०८:२१ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेशका सांसदहरूलाई आफ्नो क्षेत्रमा खटिन र सामाजिक सद्‌भाव भड्किन नदिन पहल गर्न निर्देशन दिएका छन्।  बिहीबार साँझ सांसदहरूसँग छलफलपछि सभापति लामिछानेले सांसदहरूलाई आफ्नो क्षेत्रमा खटिन र अवस्था सामान्य बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्। बैठकपछि सांसद रहबर अन्सारीले पार्टी सभापति लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको बताए।  कुनैपनि समुदाय वा नागरिकमाथि समस्या वा अन्याय आइपरे पार्टीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र समस्या समाधानको जिम्मेवारी सबै सांसद तथा पार्टी सदस्यले साझा रूपमा वहन गर्नुपर्ने लामिछानेको निर्देशन रहेको सांसद अन्सारीले बताए।  उनले पार्टीका सबै सांसदलाई आफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर स्थानीय तहदेखि गाउँ–टोलसम्म सद्भाव र सहकार्यको सन्देश फैलाउन भनिएको जानकारी दिए । साथै, सामाजिक द्वेष फैलाउने वा समुदायबीच तनाव सिर्जना गर्ने प्रयास भए त्यसलाई शान्त र नियन्त्रण गर्न समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिइएको उनले बताए । अन्सारीका अनुसार रास्वपाले यसका लागि विशेष संयन्त्रसमेत गठन गरेको छ । उक्त संयन्त्रले द्वन्द्व वा तनाव प्रभावित क्षेत्रमा पुगेर स्थानीय प्रशासन तथा राज्यका निकायसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्नेछ ।