शिव परियार र समीक्षा अधिकारीको यसपालिको दसैँ तिहार धमाका अमेरिकामा

  • बुधबार १३ साउन २०८३ ११:५१ PM
काठमाडौँ ।  गायक शिव परियार र गायिका समीक्षा अधिकारी पहिलो पटक दुई महिने व्यावसायिक साङ्गीतिक यात्राका लागि अमेरिका जाने भएका छन् । थ्रि ई इन्टरटेनमेन्टको आयोजनामा आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म अमेरिकाका विभिन्न सहरमा आयोजना हुने ‘दसैँ–तिहार धमाका यूएसए टुर २०२६’मा सहभागी हुन उनीहरू अमेरिका जान लागेका हुन् । आयोजकका अनुसार उनीहरूले न्यु योर्क, न्यु जर्सी, भर्जिनिया, म्यासाचुसेट्स, टेक्सस, क्यालिफोर्निया र इलिनोइसलगायतका विभिन्न सहरमा प्रस्तुति दिनेछन् । साङ्गीतिक यात्रामा लाइभ कन्सर्ट, सांस्कृतिक प्रस्तुति, नेपाली खानासहितको फेस्टिभल र पारिवारिक मनोरञ्जनका कार्यक्रम समावेश हुने आयोजकले जनाएको छ । गायक शिव परियार अमेरिका पटक-पटक पुगे पनि व्यावसायिक साङ्गीतिक कार्यक्रमका लागि भने यो पहिलो भ्रमण भएको बताउँछन् । यस पटकको भ्रमण उनको अमेरिका यात्रा छैटौँ हुनेछ । परियारले हालसम्म अमेरिका, बेलायत, अस्ट्रेलिया, युएई, क्यानडा, जर्मनी, हङकङ, जापान, दक्षिण कोरिया, इजरायल, स्पेन र थाइल्यान्डलगायत २६ वटा देशमा साङ्गीतिक प्रस्तुति दिइसकेका छन् । गायिका समीक्षा अधिकारीले आफू पहिलो पटक अमेरिका जान लागेको भन्दै उत्साहित रहेको बताइन् । उनका अनुसार हालसम्म करिब १० वटा कार्यक्रम तय भइसकेका छन् भने बाँकी कार्यक्रम बिस्तारै तय हुनेछन् । ‘सेप्टेम्बर २५ देखि नोभेम्बर १५ सम्म साङ्गीतिक यात्रा हुनेछ । अमेरिकामा ठुलो सङ्ख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ । सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दछु,’ उनले भनिन् । शिव परियारसँग यसअघि अस्ट्रेलिया र जापानमा साङ्गीतिक यात्रा गरिसकेको बताउँदै अधिकारीले उनीसँगको साङ्गीतिक सहकार्य रमाइलो हुने अपेक्षा व्यक्त गरिन् । अधिकारी यसअघि करिब १५ वटा मुलुकमा साङ्गीतिक प्रस्तुति दिन पुगिसकेकी छन् । उनले क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, दुबई, कतार, बहराइन र बेलायतलगायतका देशमा प्रस्तुति दिइसकेकी छन् । अमेरिकाका विभिन्न सहरमा आयोजना हुने ‘दसैँ-तिहार धमाका यूएसए टुर २०२६’ मार्फत नेपाली समुदायमाझ साङ्गीतिक प्रस्तुति दिने तयारीमा रहेका गायक शिव परियार र गायिका समीक्षा अधिकारीले यस पटकको यात्रा विशेष हुने बताएका छन् ।