दसैँ-तिहार युरोपमै मनाउँदै गायक प्रकाश सपुत, अक्टोबरदेखि एक महिने साङ्गीतिक यात्रा

  • बिहीबार १४ साउन २०८३ १२:३० AM
काठमाडौँ । गायक तथा सर्जक प्रकाश सपुत आगामी अक्टोबरदेखि एक महिने साङ्गीतिक यात्राका लागि युरोप जाने भएका छन् । उनले यस पटक पहिलो पटक सम्पूर्ण युरोप केन्द्रित साङ्गीतिक भ्रमणको तयारी गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सपुतले यसअघि पनि युरोपका विभिन्न देश र सहरमा साङ्गीतिक कार्यक्रमका लागि पुगेको भए पनि यसरी व्यवस्थित रूपमा पुरै युरोप भ्रमण गर्न लागेको भने पहिलो पटक भएको बताएका छन् । उनका अनुसार अक्टोबर ९ देखि नोभेम्बर १६ सम्म INAS France को व्यवस्थापनमा युरोपका विभिन्न देशमा साङ्गीतिक प्रस्तुति रहनेछ । यस अवधिमा उनले नेपालीको महान् पर्व दसैँ र तिहार पनि युरोपमै मनाउने उल्लेख गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, 'हुन त म केही पटक युरोप आएको छु । धेरै वटा देश र सहरमा कार्यक्रम पनि गरेको छु । तर यसरी पुरै युरोप यात्राको तयारी गरेर पहिलो पटक आउँदै छु । यसपालि दसैँ-तिहारसँगै मनाउने गरी यही October 9 देखि November 16 सम्म INAS France को व्यवस्थापनमा युरोप टुर हुने भएको छ ।' युरोपमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको यस साङ्गीतिक यात्रामा सपुतले आफ्ना चर्चित गीत-सङ्गीत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।