मन्त्रिपरिषद्का निर्णय: नौ विधेयक संसद् पठाउनेदेखि सहकारी व्यवस्थापन समितिमा सदस्य मनोनयनसम्म

  • बुधबार १३ साउन २०८३ ०५:३९ PM
काठमाडौँ । सरकारले नौ वटा विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न बनेका विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको हो । सरकारले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, २०७६, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) र बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । त्यस्तै, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलापसम्बन्धी ऐन, २०६८ तथा कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेका विधेयक पनि संसदमा पेस गर्न स्वीकृति दिइएको छ ।  बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ । त्यसै गरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ ।