प्रधानमन्त्री बालेनसँग सभामुखको भेट

  • बुधबार १३ साउन २०८३ ०५:०१ PM
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् । यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।  सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । सो क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो।