नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

  • बुधबार १३ साउन २०८३ ०३:०७ PM
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर–निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरू उपस्थित थिए । छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बिटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिएको विषयमा विस्तृत समीक्षा गरिएको थियो । सो छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत् पहुँच पुर्‍याउनका लागि टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशनसमेत दिए । “विगतमा अन्तर–निकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन् । अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुहोला । मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ”, सञ्चारमन्त्री तिमिल्सिनाले भने । सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच नपुगेका स्थानहरूको स्पष्ट तथ्याङ्क नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने र त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तारको योजना बनाउनुपर्ने बताए । विद्युत् पुगेका क्षेत्रमा कमजोर भोल्टेजका कारण सेवा प्रभावित भइरहेको गुनासो आउने गरेका छन् । त्यस्ता समस्या समाधानका लागि वितरण प्रणालीको क्षमता विस्तार गरिनुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । उनले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि पनि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले सहरी सौन्दर्य र सुरक्षित पूर्वाधार निर्माणका लागि तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरे । छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताए । उनका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सोलार ऊर्जाको भरमा सञ्चालन भइरहेका छन् । साथै उनले नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब एक हजार ४०० टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताए । सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उल्लेख गर्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति तथा भोल्टेज क्षमता वृद्धि आवश्यक रहेको धारणा राखे । नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतमा दुई निकायले छुट्टाछुट्टै योजना बनाउँदा आवश्यक समन्वय हुन नसकेको बताए । आगामी दिनमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गर्ने स्थानमा विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा उनिहरूले जोड दिए । प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिने जानकारी दिँदै विगतका कमजोर पूर्वाधारलाई क्रमशः सुधार गरी सेवा थप भरपर्दो बनाइने बताएको छ । साथै, नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिए समस्या समाधान अझ प्रभावकारी हुने प्राधिकरणको भनाई छ । काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायत क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने कार्यसँग दूरसञ्चार पूर्वाधारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी पूर्ण विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै दुर्गम तथा ग्रामीण क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने स्थानमा सौर्य प्रविधि जडानमार्फत दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा सहयोग गर्ने उनले बताए ।