काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले देवानगञ्जमा भएको विवादमा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। समाजले सद्भाव, सहिष्णुता र भाइचारा प्रवर्द्धन गर्न माग गरेको छ। समाजकी सभापति रेनुका पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै दुई दर्जन घाइते भएको घटनाले मर्माहत बनाएको बताएकी छन्। 'केही साता अगाडि उत्पन्न विवाद निरूपण हुन नसकेको पृष्ठभूमिमा सो घटना घटेको देखिन्छ । शान्ति समाजका सुनसरी स्थित सदस्यहरूबाट प्राप्त विवरण अनुसार मध्यरातमास्थिति नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने विकल्प छँदाछँदै आवेगमा आएर सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको देखिन्छ,' समाजकी सभापति पौडेलले भनेकी छन्, 'राज्य, सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु हो ।नागरिककै जीवन हरण हुने गरी भएको यो गोली काण्डको शान्ति समाज निन्दा गर्दछ र घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि शीघ्र उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पुन आग्रह गर्दछ।' शान्ति समाजले समुदायबीच सुमधुर सम्बन्ध, सद्भाव प्रवर्द्धनका लागि सदैव व्यापक साझेदारी र सहकार्यमा जोड दिँदै आएको उनको भनाइ छ। 'देशमा कुनै पनि समूह, समुदायले अन्याय, असुरक्षा अनुभूत गर्नु नपरोस्, अहिंसा, शान्ति, सद्भाव र सहिष्णुता सदैव जीवन धारा बनोस् भन्नका खातिर सबै क्षेत्रबाट इमानदार पहल र योगदान अहिलेको आवश्यकता हो । तसर्थ बलको अत्यधिक प्रयोगबाट समस्या समाधान हुन्छ भन्ने आत्मघाती एवं रुखो व्यवहार त्यागेर संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न सरकार लाई शान्ति समाज आग्रह गर्दछ,' उनले भनेकी छन्।