भवानी भट्ट, टोकियो, नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाले आयोजना गरेको एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६ मा सहभागी हुन नेपाल तथा विभिन्न देशबाट जापान आएका नेपाल प्रेस युनियन आबद्ध पत्रकारहरूलाई नेपाल प्रेस युनियन जापान शाखाले सम्मान तथा स्वागत गरेको छ। नेपाल प्रेस युनियन जापान शाखाका संयोजक राजबिन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा एनआरएनए आईसीसीका पूर्वअध्यक्ष महेश कुमार श्रेष्ठ तथा नेपाली जनसम्पर्क समिति जापानका सभापति राजेन्द्र जमरकट्टेल सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन, सचिव सोनी शर्मा, सचिव अशोककुमार तिवारी, केन्द्रीय सदस्यहरू, एनआरएनए जापानका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाल र विभिन्न देशबाट आएका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोबिन शेरचनले विदेश भ्रमणलाई केवल घुमफिरमा सीमित नराखी त्यहाँका सकारात्मक अभ्यास, अनुभव र व्यवस्थापन प्रणालीबाट सिकेर नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारहरूले विश्वका सफल अभ्यासलाई नेपाली समाज र नीतिनिर्माण तहसम्म पुर्याउँदै समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथि महेश कुमार श्रेष्ठले जापानको सुशासन, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, नागरिक सेवा प्रवाह तथा व्यवस्थित शहरी विकास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले पत्रकारहरूलाई जापानका अग्ला भवन र आधुनिक पूर्वाधारको अवलोकनमा मात्र सीमित नरही यहाँको सुशासन, सामाजिक सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह तथा व्यवस्थापन प्रणालीबारे पनि अध्ययन गरी नेपालमा यस्ता सकारात्मक अभ्यासका विषयमा जानकारी गराउन आग्रह गर्नुभयो। विकास, सुशासन र नीतिगत सुधारसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन, सचिव सोनी शर्मा तथा सचिव अशोककुमार तिवारीले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विश्वभर रहेका नेपाली पत्रकारबीच अनुभव आदानप्रदान, व्यावसायिक एकता तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले प्रवासमा रहेका नेपाली पत्रकारहरूको सक्रियताले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। सभापतिको मन्तव्य व्यक्त गर्दै नेपाल प्रेस युनियन जापान शाखाका संयोजक राजबिन थापाले एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्समा सहभागी पत्रकारहरूको उपस्थितिले जापान शाखालाई थप उत्साहित बनाएको बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले पत्रकारहरूबीच आत्मीयता, सहकार्य र व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि नेपाली पत्रकारहरूबीच एकता, सहकार्य र अनुभव आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।