अर्घाखाँची। नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारका गतिविधिका कारण मुलुकको संविधान, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता तथा लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको आरोप लगाएका छन्। मंगलबार अर्घाखाँचीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले सरकारले नीति, विधि र लोकतान्त्रिक मूल्य–मान्यतालाई मिच्दै शासन सञ्चालन गरिरहेको दाबी गरे। उनले सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै ‘यही प्रवृत्ति कायम रहे मुलुकले गम्भीर राजनीतिक तथा संवैधानिक चुनौती सामना गर्नुपर्ने’चेतावनी दिए। नेपालको परराष्ट्र नीतिबारे धारणा राख्दै उनले नेपालले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रहरूसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्नुपर्ने भए पनि वर्तमान सरकारले असन्तुलित सम्बन्ध कायम गरेको आरोप लगाए। ‘एक चीन’ नीतिभन्दा बाहिर गएर दलाई लामासम्बन्धी गतिविधिलाई बढावा दिएको भन्दै उनले त्यसले नेपालको स्थापित परराष्ट्र नीतिमा नकारात्मक प्रभाव पारेको टिप्पणी गरे। भारतसँगको सम्बन्धका विषयमा सरकारले दिएको ‘नेपालले भारतको सीमा मिच्यो’ भन्ने अभिव्यक्तिलाई उनले राष्ट्रघाती र तर्कहीन टिप्पणीको संज्ञा दिए। राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई ध्यानमा राखेर मात्र यस्ता विषयमा धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो। राजनीतिक सहकार्यका विषयमा बोल्दै विश्वकर्माले नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहकार्य कांग्रेसकै कारण अन्त्य भएको दाबी गरे। हाल नेकपासँग प्रदेश सरकार निर्माणका लागि मात्र सहकार्य भइरहेको उल्लेख गर्दै उनले सम्बन्ध अझ सुदृढ बन्दै गए, जनता र कार्यकर्ताको चाहना भए स्थानीय तह र प्रदेश तहको निर्वाचनमा समेत सहकार्य हुन सक्ने बताए। यद्यपि यस्तो निर्णय केन्द्रबाट नभई कार्यकर्ता, जनभावना र राजनीतिक आवश्यकताका आधारमा हुने उनले स्पष्ट पारे। एमालेभित्रको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै उनले पार्टी नीति, नेतृत्व, विधि, विधान, कार्यशैली र पुस्तान्तरणका विषयमा आवश्यक सुधार गर्न तथा त्यागका साथ अघि बढ्न तयार रहेको बताए। पार्टीलाई अझ बलियो, अनुशासित र जनमुखी बनाउने दिशामा एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो। लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सचिव विश्वकर्माले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय केन्द्रले नगर्ने स्पष्ट पारे। प्रदेशका सांसदहरू तथा सहकार्य गर्ने राजनीतिक दलहरूको राय र सहमतिका आधारमा निर्णय हुने बताउँदै उनले मन्त्रिपरिषद् केही दिनभित्र पुनर्गठन हुन सक्ने संकेतसमेत गरे। पत्रकार सम्मेलनमा नेकपा (एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायत जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष नवीन के