एमालेमा केन्द्रदेखि वडासम्मै रुपान्तरण आवश्यक छ : विश्वकर्मा

  • मङगलबार १२ साउन २०८३ ०८:५३ PM
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले एमालेमा केन्द्रदेखि वडासम्मै रुपान्तरण आवश्यक रहेको बताएका छन्।  अर्घाखाँचीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता विश्वकर्माले पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सक्नुपर्ने बताए। उनले एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्‍याउन सकिने विश्वास समेत व्यक्त गरे। 'हामीसँग रूपान्तरणको विकल्प छैन। जनताले अहिले यही अपेक्षा र खोज गरिरहेका छन्,' उनको भनाइ छ। नेता विश्वकर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक परे आफू केन्द्रीय सचिव पदसमेत त्याग्न तयार रहेको स्पष्ट पारे। उनले हाल नेकपासँग पार्टी एकता वा कार्यगत एकता किन भएको हो र त्यसको औचित्य के भन्ने विषयमा जनतालाई स्पष्ट र विश्वासिलो जवाफ दिन नसकिएको बताए।  'पार्टीका नेता–कार्यकर्ताले आत्मसमीक्षा गर्दै संगठनलाई एकताबद्ध र जनमुखी बनाउन सके एमालेले पुनः जनविश्वास हासिल गर्दै पुरानै अवस्थामा फर्किन सक्नेछ,' उनले भने।