कर्णाली । सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । हलकण्डरा डाँडागाउँबाट आज बिहान १०ः०० बजे दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नंको यात्रुबाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिदा जिपमा सवार ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । त्यसमध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक पोखेरेलका अनुसार छाती, ढाड र शरीरको भित्री अङगमा चोट लागि गम्भीर अवस्थाका चारै बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ । अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ ।