काठमाडौँ। वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ। दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत संयुक्त रुपमा पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो। सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेशासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार भवानी अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्याएका निर्देशक नवीन सुब्बालाई सम्मान गर्न लागिएको हो। पुरस्कारको राशि ताम्रपत्रसहित संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ। पुरस्कार पाउने व्यक्तित्वमध्ये भवानी अधिकारी मणिपुर (भारत) को सुन्तोलाबारीमा जन्मनुभई दुई दशकभन्दा बढी समयदेखि नेपाली र मणिपुरी साहित्य सिर्जनामा सक्रिय छन्। उनका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन्। उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन्। त्यसैगरी, वि