सुनसरी झडपपछि सुरक्षा प्रमुखको सरुवा, डिआइजी, सिडिओदेखि एसपीसम्म फेरिए

  • सोमबार ११ साउन २०८३ ०८:५७ PM
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबिच भएको झडपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित जिल्लाका सुरक्षा निकायका प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले सुनसरीका सिडिओ वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा सङ्खुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको छ । त्यस्तै, कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोसी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय भएको छ । यसै गरी, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्द किशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डिएसपी मदन नाथलाई खटाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भइसकेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरि नगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान सात बजेदेखि अनिश्चित कालीन कर्फ्यु आदेशसमेत जारी गरेको छ ।