काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। आङ्देम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उनको भनाइ छ। उनले भने, "यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यो घटनाको जिम्मेवार सरकारले लिनुपर्छ ।" आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको पनि उल्लेख गरेका छन्। उनले भने, 'पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीब्र असन्तोष पैदा भएको छ । परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना बारम्बार दोहोरिएको छ ।' आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै, सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्। सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ। साथै, अफवाह र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न उनले सबैमा अपिल गरेका छन्।