अशोक दर्जीमाथि कुटपिटको आरोप, भिडियो सार्वजनिक गर्ने विरुद्ध प्रहरीमा निवेदन

  • सोमबार ११ साउन २०८३ ०३:३७ PM
काठमाडौँ ।  बाल कलाकार अशोक दर्जीले आफूलाई ‘चोर’ भन्दै कुटपिट गरेको र घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर आफ्नो भविष्यमा असर पार्ने काम गरिएको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका छन् । दमक नगरपालिका–९, डाकिनी निवासी १७ वर्षीय दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड झापामा निवेदन दिँदै घटनामा संलग्न भनिएका व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेका हुन् । प्रहरीमा दिएको निवेदनमा दर्जीले करिब एक महिनाअघि आफ्ना मावली हजुरआमा, मामा विशाल परियार तथा दिदीबहिनीलाई भेट्न आएको बेला साथीहरूसँग महानन्द चोकको गेटनजिकै खाजा खाइरहेको उल्लेख गरेका छन् । त्यस क्रममा हजुरआमाको घरनजिक बस्ने एक व्यक्तिले आफूहरूसँगै जान आग्रह गरेको र सोही क्रममा अङ्कित नाम गरेका व्यक्तिले ती व्यक्तिसँग एक हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख छ । केही समय पर्खिएपछि आफूहरू स्कुटरमा घर फर्किएको उनले बताएका छन् । घटनाको करिब एक सातापछि देवी बस्ती गेटदेखि दक्षिणतर्फ रहेको पसलबाट बोतलमा पेट्रोल किनेर स्कुटरमा राख्दै गर्दा अङ्कित प्रधान र शनिश्चरेका दुई जना आएर आफूलाई  ‘चोर’ भन्दै गालीगलौज तथा कुटपिट गरेको दर्जीको आरोप छ । आफूले एक हजार रुपैयाँ चोरी गरेको भन्दै उनीहरूले घटनाको भिडियोसमेत बनाएको र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको दर्जीले निवेदनमा दाबी गरेका छन् । भिडियो हटाइदिन पटक–पटक आग्रह गर्दा पनि नहटाई उल्टै धम्की दिइरहेको भन्दै दर्जीले घटनामा संलग्न भनिएका व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेका छन् । यसैबिच, कलाकार निता ढुङ्गानाले पनि अशोक दर्जीसँगको तस्बिर राख्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेकी छन् । ढुङ्गानाले आफ्नो स्ट्याटसमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ का बाल कलाकार अशोक दर्जीको पुरानो भिडियो सार्वजनिक भएको घटनाले आफूहरू दुःखी र विचलित भएको उल्लेख गरेकी छन् । घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर नआएको भन्दै उनले विषय लेनदेनसँग सम्बन्धित जस्तो देखिए पनि सत्य तथ्य निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएकी छन् । कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमान गर्नु स्वीकार्य नहुने उनको भनाइ छ । घटना धेरै समयअघिको भएको दाबी गर्दै ढुङ्गानाले त्यति बेला भिडियो सार्वजनिक भएर चर्चा नभएको तर अशोकको निरन्तर मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको समयमा पुरानो भिडियो बाहिर ल्याएर उनलाई बदनाम गर्ने प्रयास भएको जस्तो देखिएको उल्लेख गरेकी छन् । अशोकले सम्बन्धित निकायमा दिएको निवेदनसमेत आफ्नो पोस्टसँगै संलग्न गरेको जनाउँदै ढुङ्गानाले घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक दस्ताबेजका आधारमा बुझ्न आग्रह गरेकी छन् । सामान्य परिवारबाट आफ्नो प्रतिभाको बलमा अघि बढिरहेका कलाकार अशोकलाई अहिले सबैको साथ, सहयोग र न्यायको आवश्यकता रहेकोसमेत उनले बताएकी छन् ।