काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन्। सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए। उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बनाउँछ। मन्त्री लम्सालले कुनै सडक खण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र त्यस मार्गमा पर्याप्त सवारी चाप हुने अवस्था भएमा सुरुङमार्ग निर्माण उपयुक्त हुने बताए । यस्ता परियोजनाको निर्णय ‘सम्भाव्यता परिक्षण’ अर्थात् व्यवहार्यता परीक्षणका आधारमा गरिने उनको भनाइ छ। उनले पहिरोको उच्च जोखिम भएका क्षेत्रमा पनि सुरुङमार्ग प्रभावकारी विकल्प हुने उल्लेख गर्दै सरकारले आगामी योजनाहरूमा यस्ता स्थानलाई प्राथमिकतामा राखेर सुरुङमार्ग निर्माण अघि बढाइरहेको जानकारी दिए।