काठमाडौँ । कलाकार लक्ष्मी बर्देवाले आफ्नी बहिनीका लागि काठमाडौँमा फ्ल्याट खोज्ने क्रममा जातीय विभेद र छुवाछूतका कारण समस्या भोग्नुपरेको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जाल टिकटकमार्फत आफूले विगत ६ महिनादेखि फ्ल्याट खोजिरहेको भए पनि दलित समुदायको व्यक्ति भएको थाहा पाएपछि घरधनीले विभेद गर्ने गरेको दाबी गरेकी हुन् । बर्देवाका अनुसार उनकी दुई बहिनी हाल काठमाडौँको काँडाघारीमा बस्दै आएका छन् । उनीहरूले बालुवाखानी, आकाशेधारा, साँप्रेढुंगा आसपासमा दुई बेड रुम, किचन र हल भएको तथा २० हजार रुपैयाँभन्दा कम भाडाको फ्ल्याट खोजिरहेका छन् । फ्ल्याट खोज्ने क्रममा आफूले जातीय विभेदका अनेकौँ स्वरूप देख्न र सुन्नुपरेको उनले बताएकी छन् । कतिपय घरधनीले एउटै ट्याङ्कीको पानी दलित र गैर दलितले सँगै प्रयोग गर्न नसक्ने आशय व्यक्त गरेको र कसैले मृत आमाको सपनामा आएर दलितलाई घरमा राखे वंश नाश हुने भनेकोसम्म सुन्नुपरेको उनको दाबी छ । ‘६ महिना भयो फ्ल्याट खोज्न थालेको । ६ महिनामा यही समस्याले कसैको बितेको आमाले सपनामा आएर उनीहरूलाई राखिस् भने तेरो वंश नाश हुन्छ भन्यो रे । कसैले चाहिँ एउटै ट्याङ्कीमा झरेको पाइपबाट झरेको पानी हामीले कसरी खाने, उनीहरू र हामीले एउटै पानी कसरी खाने भन्नेसम्म सुनेँ,’ उनले भनेकी छन् । फ्ल्याट भाडामा नदिने उद्देश्यले कतिपय घरधनीले अत्यधिक भाडा माग्ने गरेको अनुभवसमेत उनले सुनाएकी छन् । खोज्दै जाँदा एउटा घरमा मासिक ५० हजार रुपैयाँ भाडा मागिएको उल्लेख गर्दै उनले त्यो पनि जातीय विभेद लुकाएर घर नदिने नियत हुनसक्ने बताइन् । बर्देवाले जातीय आधारमा घर वा कोठा भाडामा नदिनु नेपालको संविधानले अपराध मानेको विषय भएको भन्दै घरधनीलाई आफ्नो सम्पत्ति भाडामा दिने वा नदिने अधिकार भए पनि जातीय विभेदलाई आधार बनाएर अस्वीकार गर्न नपाइने बताइन् । ‘भाडामा चित्त बुझेन, अरू कुरामा चित्त बुझेन भने नदिन पाइयो । तर जुन अपराध कहलिएको छ संविधानमा, त्यो अपराधलाई आधार मानेर नदिन चाहिँ पाइएन,’ उनले भनिन् । उनले जातीय विभेदका कारण फ्ल्याट खोज्ने क्रममा आफूलाई समेत आफ्नो जातप्रति ‘गिल्टी’ महसुस हुने गरेको बताइन् । आफूले आफ्नी बहिनीलाई यस्ता विभेद र दुर्व्यवहार भोग्न नपरोस् भन्ने चाहेको भए पनि लामो समयसम्म घर खोज्दा निरन्तर यस्ता घटना सामना गर्नुपरेको उनको भनाइ छ । बर्देवाले आफूलाई सामाजिक सञ्जालमा आएर यो विषय सार्वजनिक गर्न मन नभए पनि समस्या अति भएपछि बोल्न बाध्य भएको बताएकी छन् । उनले जातीय विभेद नगर्ने दाबी गर्ने व्यक्तिले समेत व्यवहारमा परिवारका सदस्यको सोच वा असहमतिका कारण विभेद गर्ने गरेको भन्दै त्यसलाई पनि एक प्रकारको दुर्व्यवहारकै रूपमा व्याख्या गरेकी छन् । ‘तपाईँले कसैलाई आधार बनाएर फलानाले मान्दैन, हुँदैन भनेर रिजेक्ट गर्नु भनेको पनि काइन्ड अफ एब्युज नै हो,’ उनले भनेकी छन् । उनले आफ्नी बहिनीका लागि सुरक्षित, उज्यालो र पानीको सुविधा भएको दुई बेड रुमको फ्ल्याट खोजिरहेको बताउँदै जातीय विभेद नगर्ने घरधनीसँग सम्पर्क गर्न आग्रह गरेकी छन् । उनका अनुसार फ्ल्याट बालुवाखानी, आकाशेधारा वा साँप्रेढुंगाको आसपास भए उपयुक्त हुनेछ र मासिक भाडा २० हजार रुपैयाँभन्दा कम हुनुपर्नेछ । आफूले विगतमा समेत जातीय विभेदकै कारण कोठा छाड्नुपरेको अनुभव सुनाउँदै बर्देवाले त्यस्तो मानसिक आघात फेरि भोग्न नचाहेको बताइन् । उनले आफ्नो बहिनीलाई जातीय विभेदरहित वातावरणमा सुरक्षित रूपमा बस्न सक्ने घर खोजिदिन सहयोग गर्नसमेत आग्रह गरेकी छन् ।