जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले समाजमा रक्तदानको संस्कार विकास गर्नु आवश्यक रहेको औँल्याएका छन् । श्रीहरि मानव कल्याण मञ्चद्वारा आज जनकपुरधाममा आयोजित रक्तदान शिविरको उद्घाटन गर्दै सभामुख यादवले रक्तदानभन्दा ठूलो मानव सेवा अर्को नभएकाले समाजमा रक्तदानको संस्कार विकास गर्नु आवश्यक रहेको बताए । ‘‘हामीले गर्ने रक्तदानले कसैको अमूल्य जीवन बच्न सक्छ”, सभामुख यादवले भने, “स्वस्थ्य नागरिकले रक्तदान गर्दा स्वास्थ्यमा फाइदा हुने र अर्को व्यक्तिको जीवन पनि जोगिन्छ ।” त्यसैले रक्तदान गर्नेहरूलाई सबैले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । मञ्चका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आयोजित रक्तदान शिविरको उद्घाटन कार्यक्रममा प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रका प्रमुख डा महारुद्र ठाकुर, नागरिक अभियन्ता सुरेशप्रसाद रोहिता, जनकपुरधाम उपमहानगरपालिका १६ का वडाअध्यक्ष रामचन्द्र साह लगायतको उपस्थिति रहेको थियो । रक्तदान शिविरमार्फत सङ्कलन हुने रगत रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिने मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।