काठमाडौं । डेढ दशकअघि नेपाली तीज गीतको क्षेत्रमा चर्चा कमाएको गायिका सुनिता दुलालको चर्चित गीत ‘अब त मैले नी झुम्का लगाउँछु’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर गायिका दुलालले शनिबार बिहान उक्त गीतको नयाँ म्युजिक भिडियो आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । युट्युबको व्यापक प्रयोग सुरु हुनुअघिको समयमा चर्चामा आएको यो गीत त्यतिबेला रेडियो, टेलिभिजन र भीसीडीमार्फत दर्शक-श्रोतामाझ पुगेको थियो । तत्कालीन समयमा धेरै भीसीडी बिक्री हुनुका साथै रेडियो तथा टेलिभिजनमा समेत निकै बजेको यो गीतले सुनिता दुलाललाई गायिकाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नयाँ भर्सनमा दुलाललाई डेढ दशक अघि नै साथ दिएका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीले यस पटक पनि साथ दिएका छन् । म्युजिक भिडियोमा चर्चित कलाकार प्रकाश सपुत र अभिनेत्री वर्षा राउतको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोमा अग्रज कलाकार लक्ष्मी गिरी र सुरबिर पण्डितको समेत अभिनय रहेको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा नेत्र अर्यालको शब्द, गोविन्द अनेकको रेकर्डिङ तथा श्यामश्वेत रसाइलीको एरेन्ज र मिक्सिङ रहेको छ । म्युजिक भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् भने निर्देशन गम्भीर विष्टले गरेका हुन् । एक दशकभन्दा अघिको मौलिक म्युजिक भिडियोमा भने गायिका दुलालसँग तत्कालीन चर्चित कलाकार तथा नायक गणेश उप्रेतीले अभिनय गरेका थिए । गीत सार्वजनिक भएपछि समता प्रेससँग प्रतिक्रिया दिँदै गायिका दुलालले नयाँ भर्सन पहिलेको गीत तथा म्युजिक भिडियोभन्दा फरक र अझ राम्रो बनाउने प्रयास गरिएको बताइन् । उनले नयाँ प्रस्तुतिमा गीतको मौलिकतालाई भने कायम राखिएको उल्लेख गरिन् । ‘त्यो बेला बनेको गीत र म्युजिक भिडियोभन्दा अहिले एकदमै फरक र राम्रो बनेको छ । तर पहिलेको मौलिकता गीत र म्युजिक भिडियोमा मारिएको छैन । धेरैभन्दा धेरै राम्रो गर्ने प्रयास गरिएको छ,’ उनले भनिन् । दुलालले नयाँ भर्सनलाई पनि यसअघिका सिर्जनाजस्तै माया गरिदिन दर्शक तथा श्रोतासँग आग्रह गर्दै कुनै कमी-कमजोरी भए औँल्याइदिन र आफ्ना प्रतिक्रिया दिन अनुरोध गरेकी छन् ।