अब शिक्षक र प्रहरी किताबखाना राष्ट्रिय किताबखानाका शाखामात्रै, महानिर्देशक पोखरेलकै कमान्डमा

  • शनिबार ९ साउन २०८३ ११:१९ AM
काठमाडौँ । मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णयअनुसार राष्ट्रिय किताबखानाको जिम्मेवारी क्षेत्र विस्तार गरिएको छ । अब साबिकका प्रहरी किताबखाना र शिक्षक किताबखाना पनि राष्ट्रिय किताबखानाकै शाखाका रूपमा रूपान्तरण हुने भएका छन् । नयाँ पुनर्संरचनाअनुसार राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलकै नेतृत्वमा निजामती, शिक्षक र प्रहरीसम्बन्धी किताबखानाको काम सञ्चालन हुनेछ । महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षणमा शिक्षक शाखाअन्तर्गत शिक्षा सेवाका उपसचिव स्तरका चार निर्देशक र प्रहरी शाखाअन्तर्गत प्रशासन सेवाका उपसचिव स्तरका दुई निर्देशक रहने व्यवस्था गरिएको छ । त्यसै गरी, निजामती शाखातर्फका तीन निर्देशकको व्यवस्था भने यथावत् राखिएको छ । यससँगै राष्ट्रिय किताबखानाका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षणमा निजामती, शिक्षक र प्रहरी शाखाको जिम्मेवारी हेर्ने गरी कुल नौ जना निर्देशक रहनेछन् । पुनर्संरचनापछि सहसचिवदेखि श्रेणीविहीन तहसम्म गरी राष्ट्रिय किताबखानामा कुल १०६ दरबन्दी कायम गरिएको छ । यसअघि निजामती, प्रहरी र शिक्षक किताबखाना छुट्टाछुट्टै रहँदा तीन वटै निकायमा गरी कुल १३७ दरबन्दी रहेको थियो । नयाँ संरचनाले ३१ दरबन्दी घटाएको छ । यसअघि महानिर्देशकसहित चार सहसचिवको दरबन्दी रहेकोमा पुनर्संरचनापछि अब महानिर्देशकसहित एक जना मात्र सहसचिव रहने व्यवस्था गरिएको छ । सरकारको निर्णयअनुसार अब निजामती, शिक्षक र प्रहरी कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी अभिलेख व्यवस्थापनलाई एउटै संस्थागत संरचनामार्फत सञ्चालन गरिनेछ । यसबाट कर्मचारीसम्बन्धी अभिलेख व्यवस्थापनमा एकरूपता कायम हुनुका साथै प्रशासनिक खर्च घटाउन र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुनर्संरचनापछि संस्थाको नेपाली नाम ‘राष्ट्रिय किताबखाना’ कायम गरिएको छ । राष्ट्रिय किताबखानाका महानिर्देशकमा श्रवणकुमार पोखरेल रहेका छन् ।