राधेराधेको १७ तले बिल्डिङ दुई दशकदेखि किन अलपत्र छ ? 

  • शुक्रबार​ ८ साउन २०८३ १०:१९ AM
भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् । सडक किनारका चिया पसल खुलिसकेका छन् । यात्रुहरू बसको प्रतीक्षामा छन् । वरपरको चहलपहलले चोकलाई जीवन्त बनाइरहेको छ । तर, यही कोलाहल र क्रंक्रिटहरुको बीचमा एउटा ठूलो बिल्डिङ भने वर्षौंदेखि मौन उभिएको छ । निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल बिल्डिङ दिनप्रतिदिन खण्डहर बन्दै गएको छ ।  कुनैबेला रहरलाग्दो देखिने यो भवन अब यहाँका नागरिकका लागि जोखिम बन्दैछ । दशक अघिदेखि निर्माण रोकिएको भवनको वास्तविकता भने अझै रहस्यमै छ ।  राधेराधे चोकस्थित ६ रोपनी तीन आना क्षेत्रफलमा बनेको सो भवनको निर्माण २०६७ सालदेखि शुरु भएको हो । ठूलो व्यापारिक भवन निर्माण हुने र आर्थिक गतिविधि बढ्ने अनुमान गरेका स्थानीय भने लामो समयसम्म निर्माण ठप्प हुँदा आश्चर्य चकित छन् ।  काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने जो–कोहीको नजर यो भवनमा पर्ने गर्छ । अग्लो संरचना, अधुरा झ्याल, खुला कंक्रिट, माथितिर उम्रिएको झार र लेउ सुकेर देखिएको कुरुप दृश्यले धेरैको ध्यान भने तानिरहेको छ । भवन कुनै समयको महत्वाकांक्षी योजनाको साक्षी बनेर उभिएको थियो । तर, निर्माण सुरु भएको करिब दुई दशक बितिसक्दा पनि निर्माण पूरा हुन सकेन भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन ।  राधेराधेका स्थानीयका लागि यो भवन कुनै नयाँ दृश्य होइन। बरु उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । कसैलाई लोकेशन वा बाटो देखाउनुपरे ‘त्यो ठूलो भवन नजिक’ भन्नु सबैभन्दा सहज चिनारी हो । एम्बुलेन्स बोलाउन होस् वा ठेगाना दिन, यही भवन सबैभन्दा पहिला सम्झिने आधार बनेको छ । राधेराधेको पहिचान बनेको यही भवन किन अधुरै रह्यो भन्ने जिज्ञासा भने अझै मेटिएको छैन । यात्रु वा स्थानीयबासी भवन निर्माण रोकिनुको कारण भने खोजिरहेका छन् । तर स्पष्ट उत्तर अझै भेटाउन सकेका छैनन् ।  यही जिज्ञासाको उत्तर खोज्ने उद्देश्यले नेपाल न्यूज बैंकको टोली स्थलगत रिपोर्टिङका लागि राधेराधे पुग्यो । स्थानीयसँग कुराकानी, भवनको प्रत्यक्ष अवलोकन तथा सम्बन्धित निकायको धारणा बुझ्ने प्रयासमार्फत किन वर्षौंदेखि अलपत्र पर्‍यो यो भवन भनेर तथ्य खोज्ने प्रयास गर्यौं । त्यस क्रममा हामीसँगको कुराकानीमा स्थानीय ६२ वर्षीय एक पुरुष सम्झिन्छन्, ‘मेरो छोराछोरी साना हुँदा यो भवन बन्न सुरु भएको थियो। अहिले उनीहरू आफैं अभिभावक भइसके। तर भवन भने त्यहीँको त्यहीँ छ । यसको वास्तविकता हामीले अझै पत्तो पाएका छैनौं।’ भवन निर्माण सुरु हुँदा स्थानीयमा ठूलो उत्साह थियो। यहाँ पाँचतारे होटल सञ्चालन हुने, व्यापारिक केन्द्र बन्ने, सयौं युवाले रोजगारी पाउने र राधेराधेको आर्थिक गतिविधि नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको थियो। वरपरको जग्गाको मूल्य पनि बढ्न थालेको थियो। स्थानीय व्यवसायीहरूले व्यापार विस्तारको योजना बनाउन थालेका थिए। तर मुख्य संरचना ठडिएपछि निर्माण कार्य रोकियो र त्यसपछि यो परियोजना फेरि अघि बढ्न सकेन ।  अहिले भवनका अधिकांश झ्याल खाली छन्। कतै फलामका डन्डी बाहिर निस्किएका छन्। वर्षौंदेखिको घामपानीले कंक्रिटको रङ फिक्का बनाइसकेको छ । माथिल्ला तलातिर झार उम्रिएको देखिन्छ। विशाल भवन भए पनि अहिले यसको पहिलो तलाको एउटा भागमा मात्र रेखदेखका लागि बस्ने परिवार रहेको छ। बाँकी सबै तलाहरू सुनसान छन्।  स्थानीय व्यापारी भन्छन्, ‘पहिला–पहिला सबैले केही महिनामै काम फेरि सुरु हुन्छ भन्ने गर्थे। अहिले त कसैले त्यसबारे कुरा पनि गर्दैनन् । भवन निर्माण पूर्ण हुन्छ भन्नेमा आशा मरिसक्यो ।’ अर्की एक स्थानीय महिलाले पनि वर्षौंदेखिको निराशा व्यक्त गर्दै भनिन्, ‘यो भवन २० वर्षदेखि यस्तै देखिरहेको छु । खोइ किन अलपत्र पारेका हुन्। नगरपालिकाले मापदण्ड पूरा नभएर रोकेको भन्ने सुनेका हौं। अहिले केही काम भइरहेको छ कि भन्ने मात्रै हो।’ गोविन्दाको भवन भन्ने हल्ला, वास्तविकता अर्कै राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो । धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्। तर, जानकारहरूका अनुसार गोविन्दा निर्माणस्थल अवलोकनका लागि एकपटक आएका कारण यस्तो चर्चा फैलिएको हो । वास्तविक रूपमा यो परियोजना नेपाली व्यावसायिक घराना जगदम्ब ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित हो। निर्माण कार्य करिब सन् २०१७ तिर पूर्ण रूपमा रोकिएको मानिन्छ । परियोजना रोकिनुका पछाडि विदेशी लगानीसँग सम्बन्धित प्रक्रिया, लगानीकर्ताबीचको विवाद, आर्थिक व्यवस्थापनका चुनौती तथा कानुनी जटिलता मुख्य कारणका रूपमा चर्चा हुने गरेका छन्। यद्यपि सम्बन्धित पक्षबाट विस्तृत सार्वजनिक जानकारी भने हालसम्म आएको छैन। भवनभित्रको दृश्य : रहस्य र सन्नाटा स्थलगत रिपोर्टिङका क्रममा हामी उक्त भवनसम्म पुग्यौं । स्थलगत रिर्पोटिङमा हामीले भवनको मुख्य गेटसँगै एउटा सानो पसल पनि देख्यौं । त्यही पसल हुँदै भित्र प्रवेश गर्नुपर्ने रहेछ । तर भित्र जान भने त्यति सहज हामीलाई थिएन ।  बाहिरबाट हेर्दा भवन सामान्य देखिए पनि त्यसबारे फैलिएका अनेक चर्चा र जिज्ञासाले त्यहाँको वातावरण केही रहस्यमय महसुस हुन्थ्यो ।  हामीले सामान्य रूपमा भित्र जाने बाटोबारे सोध्नासाथ पसलमा रहेकी एक महिला असहज र आक्रोशित देखिइन् । हामीले आफू सञ्चारकर्मी भएको र भवनबारे जानकारी लिन मात्र आएको बताउँदा पनि उनले थप केही बोल्न चाहिनन् । बरु भित्र जान नदिने अडान दोहोर्याइन् ।  उनले चर्को स्वरमा भनिन्, ‘यहाँ भित्र कोही पस्न मिल्दैन। फोटो–भिडियो केही खिच्ने होइन।’ हामीले केवल भवनको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका व्यक्तिसँग केही कुरा गरेर फर्किने बताएपछि मात्र भित्र जाने अवसर मिल्यो। भित्र प्रवेश गर्दा पहिलो तलामा एक पुरुष भवन सफा गरिरहेका थिए। हामी पुग्नासाथ उनले पनि ‘यहाँ त कोही आउन मिल्दैन नि,’ भन्दै सतर्क गराए। उनीसँग कुराकानी गर्ने क्रममा हामीले सोध्यौं, ‘हजुर यहीँ बस्नुहुन्छ