सीमाको रक्षा केवल सैनिकले गर्दैनन्, सीमामा बस्ने प्रत्येक नागरिकले पनि गर्छन्

  • बिहीबार ७ साउन २०८३ ११:५४ PM
राष्ट्र केवल नक्सामा कोरिएका रेखाको नाम होइन । राष्ट्र त्यो माटो हो, जहाँ नागरिकले आफ्नो पहिचान भेट्छन्, त्यो आकाश हो, जहाँ स्वतन्त्रताको अनुभूति हुन्छ, र त्यो राज्य हो, जसले आफ्ना नागरिकलाई समान रूपमा सुरक्षा, सम्मान र अवसर दिन्छ ।  जब राज्य आफ्ना सबैभन्दा टाढाका नागरिकसम्म पुग्न सक्दैन, त्यति बेला सीमामा बस्ने मानिसले केवल भौगोलिक दूरी मात्र होइन, राज्यको अनुपस्थितिको पीडा पनि बोकिरहेका हुन्छन् । सुस्ता त्यही पीडाको अर्को नाम हो नेपालको पश्चिम नवलपरासीस्थित सुस्ता कुनै साधारण गाउँ होइन । यो नेपालको राष्ट्रिय अस्मिता, सीमाको संवेदनशीलता, नागरिकको अधिकार र राज्यको उत्तरदायित्वलाई एकैसाथ प्रश्न गर्ने भूमि हो । नारायणी नदीको धार परिवर्तनसँगै दशकौँदेखि यहाँ सीमा सम्बन्धी विवाद कायम रहँदै आएको छ ।  सार्वजनिक रूपमा चर्चित विवरणअनुसार सुस्ताको ऐतिहासिक क्षेत्रफल करिब ४० हजार,९८० हेक्टर रहेको मानिन्छ । स्थानीय रूपमा उठाइने दाबीमा यसमध्ये ठुलो भागको १४ हजार हेक्टर अतिक्रमण र १९ हजार ९८० हेक्टर विवाद र हाल सुस्ताको सात हजार हेक्टर (Source: APF Camp Susta) कारण नेपालको प्रभावकारी प्रशासनिक पहुँच बाहिर पुगेको उल्लेख गरिन्छ । यी विषय नेपाल-भारतबिच कूटनीतिक संवाद र ऐतिहासिक अभिलेखसँग जोडिएका संवेदनशील प्रश्न हुन् । हामी राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ता काठमाडौँबाट बर्दघाट हुँदै त्रिवेणी गाउँपालिका पुग्यौँ । त्यहाँबाट झोलुङ्गे पुल तरेर सुस्ता गाउँपालिका-५ मा प्रवेश गर्दा लाग्यो, हामी कुनै अर्को देशमा होइन, आफ्नै देशको यस्तो भूभागमा आइपुगेका छौँ, जहाँ नेपाली नागरिकले अझै पनि आफ्नो अस्तित्व प्रमाणित गरिरहनुपरेको छ । सुस्तामा पाइला टेक्ने बित्तिकै मनमा एउटा प्रश्न आयो-राजधानीबाट हेर्दा सुस्ता केवल एउटा समाचार किन देखिन्छ, तर सुस्तामा पुग्दा यो एउटा अधुरो राज्यको कथा किन बन्छ