चार वर्षदेखि बेपत्ता छन् दुई हजार दुई सय बालबालिका

  • सोमबार ४ साउन २०८३ ०४:४८ AM
काठमाडौँ। पछिल्ला चार वर्षदेखि बेपत्ता रहेका दुई हजार दुई सय ५९ जना बालबालिका अहिलेसम्म पनि फेला परेका छैनन्।  राष्ट्रिय बालअधिकार परिषद्का अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्म २ हजार २ सय ५९ जना बालबालिका बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ।  हालै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६४६ बालबालिका बेपत्ता भएका थिए। उनीहरूमध्ये ४ हजार ३९७ जना भेटिए। तर ५८ बालक र १९१ बालिका भने अहिलेसम्म पनि फेला परेका छैनन्। आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ८२६ बालबालिका हराएका थिए। त्यसमध्ये ३ हजार ७ सय १३ जना फेला परे। तर अहिलेसम्म पनि १६४ बालक र ५१२ जना बालिका भने फेला परेका छैनन्।  त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार १७९ जना हराएकामध्ये ५ हजार ८३१ फेला परे। ७५९ जना अहिलेसम्म पनि फेला परेका छैनन्।  आर्थिक वर्ष २०८१/०८२ मा पनि ८ हजार १७९ जना बालबालिका हराएका थिए। ७ हजार ६०४ जना फेला परे भने ५७५ जना अहिले पनि फेला परेका छैनन्। यसरी चार वर्षको अवधिमा ५४४ बालक र १७५५ बालिकाको खोजी कार्य भइरहेको छ।