पर्वत । भैँसीको दूध बिक्री गरेर आम्दानी गर्न थालेपछि न्यौपाने दम्पत्ति गाउँका नमूना कृषक सावित भएका छन् । मनग्गे धन कमाउने सपना बोकेर झण्डै १० वर्षअघि मलेसिया पुगेका दक्षिण पर्वतका पैंयूँ गाउँपालिका–४ हुवासका सूर्य न्यौपाने दुई वर्षमै स्वदेश फर्किए । सोचेजस्तो आम्दानी नभएपछि गाउँमा पशुपालन गर्ने सोच पलायो । यता श्रीमती गीता न्यौपानेले गाउँको गरिमा विकासको जागिरे छोडी मिलेर भैँसीपालन व्यावसाय थाले । सुरुवातमा सात वटा स्थानीय जातका भैँसीबाट सुरु भएको उनको न्यौपाने भैँसी फार्म फैलिँदै गर्यो । विगत आठ वर्षदेखि सुरु गरेको फार्ममा अहिले स्थानीय र उन्नत जातका गरी २७ वटा पुगेका छन् । तीमध्ये अहिले २३ वटा दुहुना भैँसी छन् । आठ वर्षअघि सुरु गरेको भैँसी फर्मबाट न्यौपाने दम्पत्तिले दैनिक १०० लिटर दूध बिक्री गर्छन्। बिहानदेखि राति अबेरसम्मै उनिहरुको दैनिकी गोठमा बित्ने गर्छ । बैंकमा अरुका पैसा गनेर दिन कटाउने गीता अहिले मेहिनतको पैसा गन्न पाउँदा दङ्ग छिन् । रु एक करोडको लगानीबाट सुरु भएको दम्पत्तिको भैँसीपालनबाट मासिक रु एक लाख नाफा हुने गरेको छ । गरिमा विकास बैंकको जागरी छाडेर पशुपालनमा लाग्दा पछुताएकी गीता उचित समयमा राम्रो निर्णय लिएकोमा खुसी छिन् । भैँसीपालन व्यवसायसँगै उनीहरुको कुटानी पिसानी मिलसमेत छ । बाँकी रहेको दूधको मोही, दही, घ्यूउ, पनिर बिक्री गर्छन् । मलेसियाको बसाइँ त्यागेर गाउँ फर्किएका सूर्य न्यौपानेले भैँसीपालनबाट सन्तोषजनक आम्दानी भएकोमा खुसी छन् । भैँसीका लागि १०० रोपनीमा घाँसखेती गरेका छन् । न्यौपाने दम्पत्ति मात्र हैन, उनको व्यवसायमा गाउँका अन्य चार जनाले रोजगारीसमेत पाएका छन् । फार्ममा उत्पादित दूध स्थानीय हुवास, हातेमालोचोक, त्रिवेणीमा प्रतिलिटर रु १०० मा बिक्री गर्छन् । परिवारसँगै रमाउँदै गाउँमै भैँसीपालन गरेर आम्दानी गर्नुको बेग्लै मज्जा छ, दुवै जनाले बताए । व्यवसाय प्रवर्द्धनका लागि स्थानीय पैँयू गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइलगायत उनीहरुलाई अनुदानका साथै प्राविधिक सहयोग प्रदान गरेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीले कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत भैँसी फर्मलाई गोठ बनाउन अनुदान उपलब्ध गराएको बताए । फार्म सञ्चालकको रु चार लाख र कार्यालयको रु चार लाख अनुदान गरी साझेदारी अनुदान दिएको बताए । गाउँमा खेतबारी बाँझै छाडी विदेशमा भौतारिनेलाई न्यौपाने दम्पत्तिको रचनात्मक कामले विदेश जान गरिने लगानीले गाउँमै गर्न सके सोचेभन्दा बढी आम्दानी र सन्तुष्टि मिल्छ भन्ने उदाहरण पेस गरेका छन् ।