हरिकृष्णलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने भन्दै परेको रिट सर्वोच्चद्वारा दरपीट

काठमाडौँ - सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपीट गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनु भएका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते सिफारिस गरेको थियो । वैशाख २७ गते त्यसको जानकारी संसद सचिवालयलाई गराइएको थियो । संसद सचिवालयले त्यसलाई संसदीय सुनुवाइ समितिमा पठाएको थियो ।

समितिको मंगलबार बसेको बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए यही जेठ २६ गतेभित्र दिन आह्वान गर्ने निर्णय गरेको थियो । कानुनी रिक्तताका कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित ध्रुवलाल श्रेष्ठले रिट दर्ता गराउन खोजेपछि सर्वोच्च प्रशासनले दरपीट गरिदिएको हो ।