धरानका मेयर हर्क साम्पाङ र अर्थमन्त्री पुनबीच भेट

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ र अर्थमन्त्री वर्षमान पुनबीच भेट भएको छ । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ र मन्त्री पुनबीच भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।  

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गर्दै सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ। यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए।

उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो। राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे।