नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं - नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री रहेका छन्। त्यस्तै माओवादीबाट शक्ति बस्नेत मन्त्री बनेका छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहनुभएका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ । पहिलो पटक २०४४ सालमा मरिचमानसिं श्रेष्ठको पालामा सहायकमन्त्री बनेका भण्डारी योसहित १२औं पटक मन्त्री बनेका छन् । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन । प्रधानमन्त्री दाहालसँगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ । कांग्रेसभित्र शेखर कोइराला समूह र आम जनता पार्टीबाट सरकारमा सहभागी हुने भनेका प्रभु साह भने आजको मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन् ।