देशभरको मौसममा खराबी : कतै वर्षा, कतै चट्याङ

काठमाडौं - शुक्रबार देशभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको छ भने काठमाडौंमा पनि वर्षा सुरु भएको छ।

नवलपरासी क्षेत्रमा दुई घन्टामै २५.४ मिलिमिटर वर्षा भएको छ, प्रिमनसुनमा यो भारी वर्षा हो । भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ, काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ।

मकवानपुर क्षेत्रमा चट्याङ परेको छ। पश्चिमी वायु काठमाडौंसम्म विस्तार भएको र पूर्व सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यो अवधिमा केही क्षेत्रमा प्रतिघन्टा ७४ किलोमिटरसम्म हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ।