क्रिप्टोकरेन्सीमार्फत अनलाइन गेम खेलाउने ७ जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । अवैध क्रिप्टोकरेन्सीमार्फत अनलाइन गेम खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सीमार्फत खेल खेलाई उक्त प्लेटफर्ममा लिमिट लोड गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका-७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका-७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका-२ सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका-७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।