सूर्योदयमा मदिरा पिउने समय निर्धारण 

काठमाण्डौँ - इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ । आज बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै मदिरा पिउने समय तोकेको हो । 

दिनदहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरपर मदिरा बेचबिखन भएको, विद्यार्थीलाई मदिरा बेचेको तथा बालबालिकामा मदिराको लत बढाएको पाइएपछि नगरपालिकाले उक्त व्यवस्था लागू गरेको हो । 

कार्यविधिले १८  वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेको छ। इजाजत  बिना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको बीजक अनिवार्य गरेको छ ।

मदिरा तथा सुर्तीजन्य वस्तुलाई नियमनका लागि कानुन बनाउन उर्गेन बम्जनको संयोजकत्वमा विधेयक मस्यौदा समिति पनि गठन गरिएको छ । उक्त विधेयक आउँदो नगरसभामा पेश हुने छ । नगरपालिकाको १४औँ नगरसभा माघ १० गतेदेखि बस्दै छ ।