अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन,अधिवेसन स्थलमै किन भयो कुटाकुट ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा सम्मेलनमा आज पनि लफडा भएको छ ।

काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि झडपको अवस्था सिर्जना भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरुलाई खुमलटार बोलाएर उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए ।

क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो । तर २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा सम्मेलनस्थलमा कुर्सी हानाहानकै अवस्था सिर्जना भएको हो । कुर्सी हानाहान भएपछि प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।

अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

दुई पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ । अखिल क्रान्तिकारीको सम्मेलन वर्षा र बाढीपहिरोले मुलुक आक्रान्त भएपछि केही दिनको लागि स्थगित भएको थियो ।

अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योल छ । यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।