मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, शोकको समयमा झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।

प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।

सरकारका मन्त्रीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ महिनाको र सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने भएका छन् । देभैभरको वर्षाका कारण आएको विपत्तिमा क्षति पुगेकाहरूलाई राहत दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको हो ।

बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए । असोज १० गतेदेखि भएको बर्षका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।