पाल्पा जीप दुर्घटनामा मृत्यु हुने प्रहरी सहायक हवल्दारसहित तीनै जनाको सनाखत

पाल्पा - पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । तानसेन–तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रूरू रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । माथिबाट झरेको ढुङ्गासहितको सुख्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षत–विक्षत भएको छ । मृतकहरूको शव समेत क्षत–विक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिपमाथि बुधबार बिहान करिब सवा ८ बजे पाल्पाको जोर्तेमा ढुंगा खसेको थियो । दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने चालक सकुशल रहेको सूचना अधिकारी थापाले बताए । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय पाल्पाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी चौडा बनाउँदै आएको थियो ।