'भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका कामले जनतामा उत्साह थपिएको छ' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्दछु ।’