काठमाडौँ । आज साउन १५ नेपाली समाजमा खिर खाएर मनाउने चलन रहेको छ । वर्षा ऋतुको समयमा साउन १५ आजकै दिन खिर खाने प्रचलन प्राचिन कालदेखिनै चलिआएको परम्परा हो । खिर स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।
मानो रोपेर मूरी उब्जाउने असार साउनको समयमा पानीले भीजेर थकित भएको शरिरलाई दूधमा मिसाइएको विभिन्न किसिमको मरमसलाले स्वास्थ्यलाई फाइदा पुर्याउने भएको दिदीबहिनी चेलीबेटी बोलाएर खिर खाने चलन रहेको छ ।
खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा प्रयोग गरिदैँ आएको वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरुले बताउँदै आएका छन् ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रीहरुले बताउँदै आएका छन् ।
चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्छ ।
किन खीर खाइन्छ ?
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो ।
उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ ।
दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । पाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे९वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ ।
यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ ।
साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का) हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।
मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ ।
यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ ।
आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ’क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ ।
रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ’पायस’ तथा कतैकतै यसलाई ’तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।